काठमाडौं, चैत्र ४ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित अन्य मधेसी दलहरू चुनावी तयारीमा जुटेका छन् । उनीहरू गठबन्धनभन्दा पनि एकै पार्टीका रूपमा चुनाव लड्ने रणनीति बनाउन थालेका छन् । मुलुकको दुई सय ४० क्षेत्रमध्ये मधेसको एक सय १६ स्थानमा मधेसी दलले संयुक्त रूपमा चुनाव लड्ने खाका कोर्न थालेका हुन् ।

‘सबैलाई थाहा छ मधेसी दल भिन्दाभिन्दै चुनाव लड्दा मधेस र मधेस मुद्दा, संघीयतालाई नोक्सान हुन्छ, यसैले एकजुट भएरै चुनाव लड्नुपर्छ,’ तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयेश त्रिपाठीले कान्तिपुरसँग भने, ‘मोर्चा बाहिर रहेका उपेन्द्रजी, अनिलजीलगायतका सबै नेतालाई समेत मधेसको सवालमा एउटै ठाउँमा आउनैपर्छ, विकल्प छैन ।’

उनले मधेसी दल गठबन्धनका रूपमा नभई एउटै झन्डा लिएर एउटै पार्टीको रूपमा चुनावमा जानुको विकल्प नरहेको दाबी गरे । ‘यो चुनावी आवश्यकता र माग हो,’ त्रिपाठीले मोर्चा बाहिर पनि विभिन्न मोर्चा र शक्ति रहेकोमा सबैले यसलाई स्वीकार्नुपर्ने बताए ।

मोर्चाको पाँचै पार्टी एकजुट रहेरै चुनावी तयारी गर्ने जनाउँदै सद्भावना पार्टीका महासचिव मनीष सुमनले भने, ‘मधेसी दल एकजुट भएर चुनाव लडोस् भन्ने उम्मेदवार, कार्यकर्ता र मधेसी जनताको भित्री इच्छा हो ।’

गत संविधानसभाको चुनावमा मधेसी दलले प्रत्यक्षमा ४५ सिट ल्याएको उल्लेख गर्दै उनले भने, ‘अन्तिम समयमा मधेसी दलको गठबन्धनमा तालमेल नभएपछि करिब ३० वटा जित सुनिश्चित भएको स्थान गुमाउनु परेको इतिहास मधेसी दल, मधेसी जनता सबैलाई थाहा छ ।’

मोर्चा र मोर्चा बाहिर रहेका मधेसी दल एक जुट भएर चुनाव लड्नुपर्ने प्रक्रियामा सामेल हुन छिट्टै मौर्चाको बेठक बोलाइने तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका महामन्त्री दानबहादुर चौधरीले बताए । उनले एउटै दलका रूपमा चुनाव लड्नेबारे मोर्चाभित्र कुरा उठेको र छलफल सुरु हुन थालेको उनले जनाए ।

उता मोर्चा बाहिर रहेका मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले पनि एक अर्काको प्रभुत्वलाई आत्मसात गर्दै सबै मधेसी दल संघीयतालगायतका मधेस मुद्दा स्थापित गर्न एकजुट हुनुबाहेक अन्य कुनै विकल्प नरहेको बताए ।

Source: Ekantipur

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Sukan Gurung on at and is filed under News of Nepal. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


+ five = 6