काठमाडौ, चैत्र २ – नयाँ सरकार गठनसँगै आगामी असार ७ भित्र चुनाव गर्ने भनिए पनि निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएका छैनन् ।

‘चुनाव गर्न निर्वाचन आयोग चाहियो,’ आयोग प्रवक्ता अनीलकुमार ठाकुरले भने, ‘पदाधिकारी नियुक्त भएपछि मात्र प्रक्रिया अघि बढ्छ ।’ संवैधानिक व्यवस्थाअनुसार आयोगमा एक प्रमुख निर्वाचन आयुक्त र चार आयुक्त रहन्छन् । डेढ महिनादेखि आयोग पदाधिकारीविहीन छ ।

पदपूर्तिपछि मात्रै नीतिगत निर्णयसहित निर्वाचन क्यालेन्डर निर्माण गरिनेछ । त्यसनिम्ति आयोगका २ सय ८ वटा कार्यसूची छन् । क्यालेन्डर निर्माणपछि ती कार्यलाई प्राथमिकताका आधारमा वर्गीकरण गरिनेछ । मतदाता नामावली अद्यावधिक हुनेछ । त्यसैगरी निर्वाचन ऐन कानुन, नियम, निर्देशिका लगायतमा सुधार तथा संशोधन गरिनेछ ।

यस्तै दल दर्ता प्रक्रिया अघि बढ्नेछ । दल दर्तामा कम्तीमा १० हजार जनाको हस्ताक्षर बुझाउनुपर्ने प्रावधान छ । आयोगमा अहिलेसम्म १ सय १९ दल दर्ता छन् । ती दलले पनि निर्वाचनका निम्ति पुनः दर्ता हुनुपर्नेछ ।

आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्नेछ । ‘मिति तय भएलगत्तै आचारसंहिता जारी हुनेछ,’ प्रवक्ता ठाकुरले भने, ‘आन्तरिक रूपमा तयारी भइरहेको छ, आयोग बनेर निर्णय गरेपछि जारी हुनेछ ।’

संविधानअनुसार नागरिकता लिएर १८ वर्ष पुगेकाहरू मात्र मतदाता नामावली सूचीमा दर्ता हुन पाउँछन् । मतदाता नामावलीमा दर्ता प्राप्तले मात्र मतदाता गर्न पाउनेछन् । आयोगले अहिलेसम्म १ करोड १० लाखको फोटोसहितको मतदाता नामावली संकलन गरेको छ । उसले चैत मसान्तसम्ममा १८ वर्ष पुगेकालाई मतदान अधिकार दिने भएको छ । दलहरूले आगामी निर्वाचनमा २०६४ मा सम्पन्न संविधानसभाको २ सय ४० क्षेत्रलाई नै कायम राख्ने सहमति गरेका छन् ।

मतदाता नामावली संकलन सुरु आयोगले बिहीबार (चैत १) बाटै सबै गाविस र नगरपालिकाका वडा-वडामा फोटोसहितका मतदाता नामावली संकलन थालेको जनाएको छ । त्यस निम्ति स्थानीय विकास मन्त्रालय अन्तर्गतका सामाजिक कार्यकर्तालाई निर्वाचन शिक्षा कार्यकर्ताका रूपमा खटाइएको छ । उनीहरूका साथमा जिल्ला निर्वाचन कार्यालयका कर्मचारीहरू क्यामरासहितको टोली पनि परिचालित छन् ।

‘आजैबाट गाउँ समुदायमा मतदाता नामावली संकलन टोली खटाएका छौं,’ काठमाडौं जिल्ला निर्वाचन कार्यालयका प्रमुख शम्भु चालिसेले भने, ‘टोलीलाई निर्वाचन शिक्षा कार्यकर्ताले सहयोग गरेका छन् ।’ देशकै सबैभन्दा बढी जनघनत्व रहेको काठमाडौं जिल्लामा महानगरपालिका अन्तर्गत ३५ वडाका साथै कीर्तिपुर नगरपालिकाका १९ वडा र ५७ गाविस छन् ।

टोलीले पहिलो चरणमा ११ गाविस र कीर्तिपुर नगरपालिकाको तीनवटा वडामा बिहीबारदेखि तस्बिरसहितको मतदाता नामावली संकलन थालिसकेको छ । बाँडभन्ज्याङ, सतुंगल, सुन्दरीजल, गागलफेदी, भीमढुंगा, जितपुरफेदी, झोरमहांकाल, नाङ्लेभारे, चाल्नाखेल, खड्गभद्रकाली र मूलपानी गाविसमा टोली पुगेको छ । उक्त टोली कम्तीमा दुई दिनसम्म सम्बन्धित क्षेत्रमा रहने छन् । महानगरपालिकामा चैत दोस्रो साताबाट मसान्तसम्ममा मतदाता नामावली संकलन कार्य सम्पन्न गर्ने चालिसेले जनाए ।

आयोगले तयारी अघि बढाउने क्रममा बिहीबारै ‘निर्वाचनमा हिंसा नियन्त्रण’ सम्बन्धी दुईदिने कार्यशाला सकेको छ । कार्यशालामा गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तथा नागरिक समाजका प्रतिनिधि सहभागी थिए ।

Source: Ekantipur

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Sukan Gurung on at and is filed under News of Nepal. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


− three = 5