काठमाडौं, चैत्र २ - प्रमुख राजनीतिक दलहरूबीचको सहमतिले गतिरोध अन्त्य गरेलगत्तै मुलुक निर्वाचनतिर अग्रसर भएको छ । केही साना राजनीतिक दल र पेसागत समूहहरू विरोधमा उत्रिए पनि प्रमुख राजनीतिक शक्तिहरूले चुनावी माहोल बनाउन सुरु गरेका हुन् । कांग्रेस र एमालेले बिहीबारबाटै आ- आफ्नो पार्टीको मञ्चलाई चुनावी प्रयोजनका लागि प्रयोग गर्न थालिसकेका छन् ।

नुवाकोटमा भएको पार्टीको आन्तरिक भेलामा कांग्रेस शीर्ष नेताहरूले चुनावी माहोल बनाउनका लागि गाउँ- गाउँमा जान कार्यकर्ताहरूलाई निर्देशन दिए । एमाले अध्यक्ष झलनाथ खनालले दार्चुला जिल्लाको पार्टी अधिवेशनका क्रममा आयोजित सभालाई सम्बोधन गर्दै ‘एमालेलाई पहिलो पार्टी’ बनाउने गरी निर्वाचनमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

‘यो सहमतिले राजनीतिक गतिरोध हटाएर मुलुकलाई चुनाव उन्मुख गराएको छ, एमाले आजैदेखि चुनावमा लागिसकेको छ,’ एमाले अध्यक्ष खनालले कान्तिपुरसूग भने, ‘तत्कालै एमालेले पार्टीको बैठकबाट चुनावी रणनीतिहरू तयार गर्छ ।’ चुनावमा जाने कुरालाई कसैले विरोध गर्न नहुने उनले बताए ।

कांग्रेस र एमालेले पछिल्लो सहमतिबाट एमाओवादी सरकारको विस्थापन र चुनाव दुवै आफ्ना एजेन्डा सफल भएको दाबी गर्दै अब यो अवसरलाई उपयोग गरेर जानुपर्ने बताएका छन् । ‘हामीले भनेअनुसार सरकारको बहिर्गमन र चुनावमा जाने दुवै भएको छ,’ कांग्रेस उपसभापति रामचन्द्र पौडेलले भने, ‘अब चुनावका लागि गाउँ- गाउँमा पुग्नुपर्छ ।’

संविधानसभा विघटनले संविधान निर्माण कार्य बीचैमा अलपत्र परेपछि त्यसलाई पूर्णता दिन प्रमुख राजनीतिक शक्तिहरू नयाँ चुनावतर्फ अग्रसर भएका हुन् । पछिल्लो सहमतिअनुसार आगामी असार ७ भित्र चुनाव गरिसक्ने पहिलो समयसीमा छ । यो समयसीमाभित्र प्राविधिक रूपमा चुनाव हुन नसके मंसिर महिनाभित्र त्यो काम पूरा भइसक्नेछ । ‘सबै दलहरू मिलेर असारमै चुनाव सम्पन्न गर्नुपर्छ अब चुनावबाहेक अरू कुरा गर्नु हुँदैन,’ निवर्तमान प्रधानमन्त्री तथा एमाओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, ‘चुनाव हुन नसके लोकतन्त्र खतरामा पर्छ ।’ राजनीतिक अविश्वासका कारण सहमति हुन नसकेपछि दलहरूले प्रधानन्यायाधीशलाई सरकारको स्वामित्व सुम्पेर चुनाव गर्ने सहमतिमा पुगेका हुन् ।

अघिल्लो संविधानसभाको चुनावमा पनि केही छिटपुट विरोधी स्वरहरू थिए । तर प्रमुख राजनीतिक शक्तिहरूले निर्वाचनमा दरिलो प्रतिबद्घता जनाएपछि चुनाव सम्भव भएको थियो । अहिले पनि प्रमुख शक्तिहरू एक ठाउूमा छन् । उनीहरूलाई अन्तर्राष्ट्रिय समुदायको पनि सद्भाव छ । अन्तर्राष्ट्रिय समुदायले बिहीबारबाटै चुनावको स्वागत गरिसकेका छन् ।

प्रमुख दलका नेताहरूले असन्तुष्ट दल र समूहहरूलाई आफ्ना विरोध र असन्तुष्टि चुनावमै गएर पोख्न आग्रह गरेका छन् । ‘विरोधीहरूसँग हामी दलहरूले नै कुरा गरेर चुनावका लागि एकताबद्घ हुन्छ आग्रह गर्छौं,’ एमाले अध्यक्ष खनालले भने, ‘विरोध र असन्तुष्टिहरू छन् भने त्यसलाई चुनावमै गएर पोखे हुन्छ, विरोध गर्नेहरूले जनतालाई विश्वासमा लिएर हामी चार दललाई पराजित गरे भइहाल्छ तर चुनावकै विरोध गर्नु प्रतिगामी कुरा हो ।’

प्रमुख दलहरूले चुनावका लागि बाहिरी माहोलसूगै पार्टीभित्रको आन्तरिक वातावरण पनि अनुकूल बनाउनुपर्नेछ । जुन काम त्यति ठूलो नभएको एमाले अध्यक्ष खनालले बताए । ‘सहमति नहुन्जेलसम्म यो कुरामा पार्टीहरूभित्र कतैकतै असहमति थियो होला तर अब चुनावमा जाने कुराको विरोध कसैले गर्दैन’ अध्यक्ष खनालले भने ।

सहमति अनुसार मन्त्रिपरिषद्लाई प्रमुख दलहरूले उत्तिकै सहयोग गर्नुपर्ने अवस्था छ । चुनाव गराउने मन्त्रिपरिषद् दलभन्दा बाहिरका व्यक्तिको भएकाले त्यसलाई आफ्नो दलको प्रभावमा ल्याउने प्रयास दलहरूबाट हुन पनि सक्छ । त्यस्तो भयो भने सहमतिका हस्ताक्षरकर्ताहरू शक्तिहरूबीच नै तिक्तता उत्पन्न हुन सक्छ । त्यसमा सावधानी दलहरूले अपनाउन आवश्यक छ ।

Source: Ekantipur

Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments

This entry was posted by Sukan Gurung on at and is filed under News of Nepal. You can follow any responses to this entry through the RSS 2.0 feed. You can leave a response, or trackback from your own site.

Leave a Reply

Mail (will not be published)


four × 3 =