कालीगण्डकीमा डेढ सय मिटर गहिरो ताल

म्याग्दी : पहिरोले थुनिएपछि म्याग्दी वैंसरीस्थित कालीगण्डकी नदीमा एकसय ५० मिटर गहिरो ताल बनेको छ । ताल फैलिएर २ किलोमिटरमाथि सम्म पुगेको छ ।

राम्चे–९ फेदीस्थित पहाडबाट खसेको पहिरोका कारण कालीगण्डकी नदी पुरै थुनिँदा गहिरो ताल बनेको हो । पहिरोले थुनिएपछि नदीमा पानीको बहाब बिहान ५ बजेबाट ठप्छ ।

तालका कारण बेनी-जोमसोम सडक पनि बन्द भएको छ । नदी थुनिएपछि बनेको तालले २६ घर पूर्ण रुपमा डुबेका छन् ।

अहिले पनि निरन्तर पहिरो खसिरहेको छ । पहाडको टुप्पोमा तीन सय मिटर अझै चर्किएर पहिरो जाने अवस्थामा देखिएको घटनास्थल पुगेका प्रहरी निरिक्षक विमल उपाध्यायले जानकारी दिए ।

‘पहाडको बीच भागबाट पहिरो खसिरहेको देखिन्छ, माथि टुप्पोमा चर्किएको भाग धेरै भएकोले पहिरो रोकिएको छैन्, उनले भने, ‘अवस्थाबारे अझै भन्न सक्ने स्थिति छैन ।’

बिहान ७ बजे भित्र नै नेपाली सेनाको इञ्जिनियर सहितको टोली आईपुग्ने बताइएपनि अहिलेसम्म आईपुगेको छैन ।

पानी थुनिएर बनेको ताल फुटेमा तिब्ल्याङ, पोखरेबगर, भुरुङतातोपानी, गलेश्वर, बेनीबजार, पर्वत बेनी, मालढुंगा र कालीगण्डकी नदी किनारका बस्तीहरु उच्च जोखिममा परेका छन् ।
kaligandaki_block_by_landslide

kali_gandaki_river


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments