एमाले फेदिखोलाले भुकम्पका कारण जोखिममा परेका घरहरुको प्राविधिक जाँच गर्ने

नेकपा एमाले स्याङ्गजा, फेदिखोला गाँउ कमिटीले गाविसमा भुकम्पका कारण जोखिममा रहेका घरहरुको जोखिम स्तर जाँच गर्ने भएको छ । शनिबारदेखि नौ जना प्राविधिकहरु सहितको विशेष टोलीले तीन दिनको अभियान लिएर गाउँमा जाने कमिटीका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

सुवेदीका अनुसार नेपाल बुद्धिजीवि परिषद, स्याङ्गजाका सचिव इञ्जिनियर मनोज बरालको नेतृत्वमा, इञ्जिनियरहरु टिकाराम रेग्मी, किरण सुवेदी सहितको नौ जनाको टोली शनिबार त्यस तर्फ लाग्नेछ । यो टोलीमा इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पोखरा क्याम्पसमा बि. इ. अध्ययनरत तालिमप्राप्त विद्यार्थीहरु विकास सुवेदी, आनन्द पौडेल, धु्रव अधिकारी, महेन्द्र केसी, खुसी महोम्मद मियाँ, विवेक श्रेष्ठ, तिलक श्रेष्ठ, विशाल अधिकारी, हरि मल्ल र अशोक पौडेलको पनि सहभागिता रहने छ ।

यो टोलीले जिल्ला विकास समितिको ¥यापिड इभ्यालुयसन सेफ्टी एसिस्मेन्ट फर्मको नमुना भित्र रहेर गाविसका विभिन्न वडामा भुकम्पका कारण जोखिममा रहेका घरहरुको जाँच गरेर प्रतिवेदन तयार गर्ने बताइएको छ ।

भुकम्पका कारण फेदिखोला गाविसमा ४३ वटा घरहरुमा पूर्ण रुपमा क्षति पुगेको छ भने ४७ वटा घरहरुमा आंशिक क्षति र तीन सय पचास वटा घरहरुमा सामान्य क्षति पुगेको छ । तथापी स्याङ्गजा जिल्लाका कुनै पनि गाविसमा सरकारी स्तरबाट प्राविधिक टोली भने पुग्न सकिरहेको छैन ।

“भुकम्पका कारण कतिपय कम क्षति भएका घरहरुका मानिसहरु पनि त्रासमा घर बाहिर बसिरहेको र कतिपय मानिसहरु क्षति भएकै घरमा समेत सचेतनाको कमिका कारण घरभित्रै उच्च जोखिमा बसिरहेका छन्,” सुवेदीले अगाडी बताए, “यो अभियानले त्यसको तथ्यांक निकालेर सरकारी निकायलाई पेश गर्ने र स्थानिय स्तरमा जनचेतना समेत फैलाउने काम गर्नेछ ।”

गाउँ कमिटीले भुकम्प पीडितहरुलाई यस अघि पनि घर दैलो कार्यक्रम गरेर राहत वितरण समेत गरिसकेको छ भने थप राहत र पुनस्र्थापनाको लागि सरकारी पक्षसँग हातेमालो गरिरहेको छ । त्यहाँ पुगेका प्राविधिक टोलीले भने यस अघि पनि पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका विभिन्न वडाहरुमा घरहरुको जाँच गरिसकेको थियो ।


Feedbacks and Comments for this page

comments from Facebook Account Users - Your comments are our ASSET - Please leave your comments